Ads Top

सरकारी अस्पतालका शौचालय : कतै पानी छैन, कतै ढोकामा चुकुल



काठमाडौं । तपाईं बिरामी हुनुभयो भने अस्पताल जानुहुन्छ । बिरामी हुने धेरै कारण हुन्छन् । त्यसमध्येको एउटा हो सरसफाइको कमी । सफाइको कमीका कारण पनि कतिपय रोगहरू लाग्छन् । रोगको उपचार गर्न जाने ठाउँ अर्थात् अस्पताल नै फोहोर भए रोग कसरी निको होला ? उपत्यकाका सरकारी अस्पतालहरूको शौचालय छिर्नुभयो भने तपाईं थप बिरामी हुने पक्का छ ।

सरसफाइको कमीका धेरैजसो सरकारी अस्पतालका शौचालय प्रयोग गर्न नसकिने अवस्थामा रहेको बिरामीहरू बताउँछन् । सबैभन्दा पुरानो अस्पताल वीर, ललितपुरको पाटन अस्पताल, मानसिक अस्पताल आदिका शौचालयमा छिर्नै सकिँदैन । शौचालयको प्यानमा मात्र नभएर बाहिर ढोकाको छेउछाउसम्मै दिशापिसाव छरिएर रहेको देखिन्छ । शौचालयमा जाँदा नाकमुख बन्द गर्नैपर्ने बाध्यता छ ।

टिचिङ अस्पताल महाराजगन्ज, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, निजामति कर्मचारी अस्पताल आदिको अवस्था पनि त्यस्तै छ । शौचालयको अवस्था देखेर बिरामीहरू बाध्यताले मात्रै प्रयोग गरेको बताउँछन् ।

मानसिक अस्पतालका सूचना अधिकृत बासुदेव कार्की पाटन क्षेत्रमा पानीको अभावले शौचालय फोहोर हुने तर्क गर्छन् ।

“काठमाडौंमा नै पानीको समस्या छ, तर पाटन क्षेत्रमा झन् धेरै समस्याले गर्दा अस्पतालको सरसफाइ कम भएको हो,” उनले भने, “थोरै पानीले पुग्दैन, ट्याङ्करबाट ल्याएको पानीले धान्न गाह्रो हुन्छ । सरसफाइ गर्न पानी चाहिन्छ, त्यसैले पानीमा भएका प्रयास सफल हुँदै गयो भने समस्या समाधान हुन्छ ।” अस्पतालमा कर्मचारी कम हुनु र मानसिक रोगीले सफाइमा ध्यान दिन नसक्नुले पनि शौचालय बढी फोहोर भएको उनले बताए ।

परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीका निर्देशक अमिरबाबु श्रेष्ठले शौचालय प्रयोग गर्नेहरूकै कारण फोहोर भएको दाबी गरे । “आफूले सफा गर्नुपर्दैन भन्ने भावनाले दिसापिसाब जहाँ पायो त्यहीँ गर्छन् । त्यसले धेरै फोहोर हुन्छ,” उनले भने, “सफाइको चेतना नभएका बिरामी धेरै आउने भएकाले पनि शौचालय फोहोर हुन्छ ।” पानी प्रशस्त भए पनि अस्पतालमा शौचालय कम हुँदा समस्या आएको बताउँछन् श्रेष्ठ ।

सबैभन्दा खराब हालत वीर अस्पतालका शौचालयको छ । केही समयअघि स्वास्थ्यमन्त्री गगनकुमार थापाले अस्पतालका शौचालय सफा राख्न निर्देशन दिए पनि अवस्था अहिले पनि उस्तै छ ।

शौचालय पुराना भएका र ढल भरिएका कारण फोहोर हुने अस्पतालका निर्देशक डा. भुपेन्द्रकुमार बस्नेत बताउँछन् । “अहिले फोहोर व्यवस्थापनको काम भइरहेको छ । ढल व्यवस्थापन गर्न पनि काम तीव्र गतिमा चलिरहेको छ,” उनले भने ।

निजामति कर्मचारी अस्पतालका शौचालय पनि सफा छैनन् । “दिनको ४–५ पटक सफा गर्छौँ, तैपनि फोहोर भइहाल्छ,”

अस्पतालकी एक कर्मचारीले भनिन् । सिभिल अस्पतालका कुनै कुनै शौचालयमा त चुकुल पनि छैन । “शौचालयमा चुकुल पनि रहेनछ । एक हातले चुकुल समाउँदै बस्नुपर्ने अवस्था छ । फोहोर पनि उस्तै,” दोलखाकी उषा केसीले भनिन् । डडेल्धुराकी शारदा भट्टले पनि उषाको जस्तै गुनासो सुनाइन् ।

कान्ति बाल अस्पतालको शौचालयमा भने सुधार आएको छ । बिरामी भान्जालाई उपचार गराउन गएका सुवास भट्टराईले पहिले र अहिलेको अवस्थामा धेरै फरक आएको बताए ।

कान्ति बाल अस्पतालका निर्देशक डा. अजित रायामाझीले बच्चाको अस्पताल भएकाले अरु अस्पतालभन्दा फरक भएको दाबी गरे । अस्पतालमा धेरै किसिमका बिरामी आउने भएकाले सफाइमा ध्यान राख्दाराख्दै पनि गाह्रो हुने उनको भनाइ छ । एक महिनाभित्रमा शौचालयमा सुधार हुने उनले बताए । कान्ति बाल अस्पतालमा ५० वटा शौचालय छन् भने हाउस किपिङका कर्मचारी ३० जना छन् ।

पाटन अस्पतालकै परिसरमा सार्वजनिक शौचालय छ । उक्त शौचालय प्रयोग गर्न ५ देखि १० रुपैयाँ तिर्नुपर्छ । अस्पतालका निर्देशक डा. विष्णु शर्माले अस्पतालले टेन्डर निकाल्ने र टेन्डर पार्नेले सार्वजनिक शौचालय राख्ने जानकारी दिए । अस्पतालको शौचालय पनि सफा भएको उनले दाबी गरे ।

यो त भयो सरकारी अस्पतालका शौचालयको कुरा । स्वास्थ्य मन्त्रालयकै शौचालय छिर्न पनि नसक्ने अवस्थामा छन् । कुनै शौचालयमा ढोकाको चुकुल लाग्दैन त कुनैमा पानी हुँदैन । मन्त्रालयका प्रवक्ता भोगेन्द्र डोटेलले शौचालयको समस्या चाँडै नै सुधार्ने बताए । नजिकै सार्वजनिक शौचालय नहुँदा बाहिरका मानिसहरू पनि आउने भएकाले मन्त्रालयको शौचालय फोहोर भएको उनको भनाइ छ । “बाहिरी मानिसहरू दौडेर आउँछन्, पानीको समस्या छ । मन्त्रालयको सौचालय सार्वजनिक भएको छ,” उनले भने । करारका कर्मचारीेले एक पटकमात्रै सफा गर्ने भएकाले बिहानको समयमा सफा हुने र अघिपछि फोहोर हुने उनले बताए ।

No comments:

Powered by Blogger.