Ads Top

स्वयम्भूमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान

काठमाडौँ, २१ फागुन । स्वयम्भू भगवान्पाउ नजिकै प्रहरी र अपहरणकारीबीच आज गोली हानाहान भएको छ । गोली हानाहानमा परी एकजना अपहरणकारी घाइते भएका छन् ।  तीनजनालाई प्रहरीले नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिए ।
banner
अपहरणकारी समूहले गत बिहीबार नुवाकोट घर भई काठमाडौँ बस्दै आएका तीनजनालाई अपहरण गरेका थिए । अपाहरण पछि उनीहरुले परिवारसँग  छ लाख ५० हजार फिरौती रकम माग गरेका थिए ।

गत फागुन १९ गते अपहरणकारी समुहले मनदोर्जे तामाङ, विशाल तामाङ र नाङ्लुङ तामाङलाई अपहरण गरी २० गते उनीहरुको परिवारलाई फोन गरी  छ लाख ५० हजार फिरौती मागेको प्रहरीले जनाएको छ ।  

प्रहरीले उक्त सूचना पाएपछि महाशाखाको टोलीले आज अपहरणकारीलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए ।  अपहरणकारी समूहले प्रहरीलाई देख्नासाथ गोली प्रहार गरेको प्रहरीको भनाइ छ । अपहरणकारीले गोली चलाएपछि प्रहरीले पनि जवाफि फायर खोलेको थियो ।

प्रहरीले प्रहार गरेको गोली लागेर नुवाकोटका जीवन लामा भन्ने दुर्गाबहादुर तामाङ घाइते भएका छन् । उनको घुँडामुनि गोली लागेको प्रहरीले जनाएको छ ।  उनलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको महाशाखाका प्रमुख अमात्यले जानकारी दिए ।

अपहरणकारी समूहका सचिन खवास र वीरबहादुर तामाङलाई प्रहरीले घटनास्थलबाट नियन्त्रणमा लिएको छ । अपहरणकारी छ जनाभन्दा बढी थिए । प्रहरीले नियन्त्रणमा लिने क्रममा केही अपहरणकारी भागेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी कार्य जारी रहेको वरिष्ठ उपरीक्षक अमात्यले जानकारी दिए।

No comments:

Powered by Blogger.