Ads Top

सीमास्तम्भ हराए ! कहाँ गए सीमास्तम्भ

सीमास्तम्भ हराए  ! कहाँ गए सीमास्तम्भचैत्र १८, २०७३- नेपाल–भारत सीमामा मुख्यसहित ५४ वटा सीमास्तम्भ हराएको करिब डेढ दशक बिते जिम्मेवार निकाय मौन छन् । बर्दियासँग जोडिएको करिब ८० किमि लामो सीमामा हराएका स्तम्भको खोजी र पुन: मर्मतमा सरकारी निकायले ध्यान नदिएको स्थानीयको गुनासो छ ।

सीमास्तम्भ ५९ देखि ६३ सम्म दशगजासँग जोडिने भूभागमा भारतीय पक्षले कालोपत्रे सडक निर्माण गरिसकेको छ । गुलरिया नगरपालिकाको कालाबन्जरस्थित नेपाल–भारत सीमाको दशगजामा सडक बनाइएको हो । सीमास्तम्भ गायव भएका कारण गुलरिया ९ का साहदात धोबीको करिब अढाई बिघा जग्गा भारतीय नागरिकले कब्जा गर्दै आएका छन् । २०६१ असार २१ गते भारतीय नागरिक राजदेव गौडले जग्गा कब्जा गरेको उनले दाबी गरे । घटनाबारे पटक–पटक स्थानीय प्रशासनलाई जानकारी गराए पनि सुनुवाइ नभएको उनको गुनासो छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार ९६ वटा मुख्य र सहायक सीमा स्तम्भमध्ये जङ्गे स्तम्भ २, सहायक १, साना ३ पुन: निर्माण गर्ने अवस्थाका छन् । त्यस्तै जङ्गे स्तम्भ १ र सहायक १० मर्मत गर्नुपर्ने अवस्थाका छन् । जङ्गे सीमा स्तम्भ १, सहायक २ र साना ४२ खोलाले बगाएको प्रशासनले जनाएको छ । सीमा स्तम्भ हराएका कारण दुवै मुलुकको सिमाना छुट्याउने दशगजासमेत देखिन छाडेको छ । नेपाली र भारतीय नागरिकले दशगजा अतिक्रमण गरी खेती गरेको स्थानीयको भनाइ छ ।
प्रजिअ विष्णुबहादुर थापाले धेरै ठाउँमा सीमास्तम्भ नभएको जानकारी केन्द्रीय निकायमा पठाए पनि कुनै प्रक्रिया अघि नबढेको बताए । कान्तिपुर बाट

No comments:

Powered by Blogger.