Ads Top

द्वन्द्व न्यूनीकरण गर्न सामूहिक प्रतिबद्धता ।

फाल्गुन २०, २०७३- गाउँ तथा नगरस्तरीय शान्ति समितिले द्वन्द्व न्यूनीकरणको क्षेत्रमा सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । गठनमा मात्रै सीमित रहेका शान्ति समितिले अब द्वन्द्व न्यूनीकरणका लागि रचनात्मक कार्यक्रम गर्ने तयारी गरेका हुन् ।
सशस्त्र द्वन्द्वका बेला मारिएका, सम्पत्ति क्षति बेहोरेका, कुटपिटमा परेका, अनाहकमा जेल बसेकाको लगत संकलन, सत्यतथ्य छानबिनका लागि जिल्लास्तरीय शान्ति समितिलाई सहयोग पुर्‍याउने उद्देश्यसहित गठन गरिएका समिति पछिल्लो समय कामविहीन जस्तै छन् ।


काम र जिम्मेवारीमा धेरै उल्लेख गरिए पनि गाउँ तथा नगरस्तरीय शान्ति समितिले कुनै काम गर्न नपाएको समिति पदाधिकारीले बताएका छन् । गाउँस्तरीय समिति स्यालापाखा संयोजक गोवद्र्धन बुढाले ५ वर्षअघि गठन भएको समितिले कुनै काम गर्न नपाएको जानकारी दिए । ‘हामीले गर्ने उल्लेख गरेका अधिकांश काम समिति गठनपूर्व नै भइसकेका थिए,’ बुढाले भने, ‘त्यसैले पनि हामी गठनमा मात्रै सीमित छौं ।’
अधिकारसहितको बलियो समितिलाई मात्रै नराखेर अब आफैं रचनात्मक कामका लागि अघि बढ्ने योजना बनाएको उनले बताए । उनका अनुसार गाउँस्तरीय समिति स्यालापाखाले सशस्त्र युद्धका क्रममा दुवै पक्षबाट मारिएकाका आफन्तलाई भेटेर उनीहरूको अवस्थाबारे जानकारी स्थानीय शान्ति समिति हुँदै मन्त्रालयमार्फत सरकारलाई पठाउने योजना बनाएको छ ।
स्यालापाखाले मात्रै होइन, पेउघाले पनि उतिबेला मारिएकाका परिवारलाई भेटघाट गर्ने कार्यक्रम बनाएको छ । बाँफीकोटले तत्कालीन राज्य र विद्राही पक्षबाट मारिएकाका आफन्तको सहभोज गर्ने योजना बनाएको छ भने मारिकाको पूर्ण विवरण संकलन गरी स्मारिका प्रकाशन गर्ने तयारी अन्तिम चरणमा पुगेको समितिका सदस्यसचिव तथा गाविस सचिव ज्ञानबहादुर खडाले बताए । नगरपालिका घोषणापछि भर्खरै गठन भएको चौरजहारी नगरपालिकास्तरीय शान्ति समितिले पनि यहाँका सम्पूर्ण मृतकका आफन्तलाई राखेर सहभोज तयारी गरिरहेको छ । विगतमा रहेका आपसका तुष र नकारात्मक बुझाइ हटाई मेलमिलापको वातावरण बनाउन सहभोज तयारी गरेको संयोजक पवित्रा पुनले बताइन् ।
गाउँस्तरीय समिति नुवाकोटले सशस्त्र युद्धताका भएका घटनाबारे सत्यतथ्य खोजबिनका साथै गाउँमा बेला–बेला हुने अन्य द्वन्द्वका घटनाको सहजीकरण गर्दै आएको छ । तत्कालीन युद्धका घटनाबारे थप वास्तविकता खोज्न समिति बनाइए पनि आफूहरूले त्यसलाई गाउँमा भइरहने अन्य स–साना वादविवादको पनि सहजीकरण गरिरहेको संयोजक नरेन्द्रकुमार चन्दले बताए । ‘हामीले गठनपछि युद्धताका धेरै कुरा गर्नुपर्ने थिएन, धेरै काम गठनपूर्व नै भइसकेका थिए, त्यसैले हामीले समितिलाई गाउँमा हुने अन्य द्वन्द्व समाधानमा लगाएका छौं,’ चन्दले भने ।
स्थानीय शान्ति समितिले गाउँ तथा नगरस्तरीय समितिले रचनात्मक काम गर्ने भनेर जिल्लामा लिखित जानकारी दिएको बताएको छ । समिति सचिव लामिछानेले गठनको लामो समयपछि गाउँ तथा नगरस्तरीय शान्ति समितिले स्वतस्फूर्त काम गर्ने जानकारी जिल्लामा गराएको बताए । रचनात्मक कामका लागि तयारी गरिरहेका समितिलाई स्थानीय शान्ति समितिको पूर्णसहयोग रहने उनको भनाइ छ ।
स्थानीय समितिमार्फत सरकारले हरेक वर्ष नगर र गाउँस्तरीय शान्ति समितिलाई २२ हजार नगद दिँदै आएको छ । सोही रकमबाट समितिले आफूले चाहेको काम गर्न सक्ने व्यवस्था छ । जिल्लास्तरीय समितिले भने हरेक वर्ष विभिन्न गाविसमा पुगेर मृतकका आफन्तलाई सम्मान गर्दै आएको छ ।
०७१ मा खारा, ०७२ मा महत गाविस मृतकका आफन्तलाई सम्मान गरेको समितिले यस वर्ष झुला, मग्मा, दुली, स्यालापाखा, बाँफीकोट र पीपल गाविसमा संयुक्त रुपमा सम्मान गर्दैछ । फागुन अन्तिमतिर सम्मान कार्यक्रम तय गरिएको सचिव लामिछानेले जानकारी दिए । युद्धका क्रममा जिल्लाभरका ६ सय ६५ जनाले स्थानीय शान्ति समितिबाट मृतकबापतको राहत बुझेका छन् ।


No comments:

Powered by Blogger.