Ads Top

चीन पुगेर प्रधानमन्त्रीले दिए यस्तो अभिव्यक्ति, चिनियाँ सरकार खुसी

काठमाडौं, १२ चैत । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ उपप्रधानमन्त्री झाङ गाओलीसँग भेटवार्ता गरेका छन् ।

बोआओ सम्मेलनमा सहभागी हुन चीनको हेनान प्रान्तको बोआओ पुगेका प्रधानमन्त्री दाहाल र सम्मेलनको उद्घाटनका लागि पुगेका चिनियाँ उपप्रधानमन्त्री झाङबीच शुक्रबार दिउँसो भेटवार्ता भएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

भेटका क्रममा प्रधानमन्त्रीले नेपाल र चीनबीच विगत लामो समयदेखि आत्मीय र समस्यारहित सम्बन्ध रहँदै आएको स्मरण गर्दै नेपालले एक चीन नीतिप्रति सधैं समर्थन गर्दै आएको र नेपाली भूमिबाट चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिने दृढता दोहो-याएका थिए ।

नेपाल चीनले अगाडि सारेको वान बेल्ट वान रोड परियोजनामा सहभागी हुने प्रतिबद्धता जनाउँदै ओबीओआरमा नेपाल साझेदारको रूपमा अगाडि बढ्ने विश्वास दिलाएका थिए ।

प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी जिनपिङले अघि सारेको वान बेल्ट वान रोडमा नेपालले साझेदारी गर्ने प्रतिबद्धता व्यक्त गरेको उनको निजी सचिवालयले जनाएको छ ।

भेटका क्रममा प्रधानमन्त्री दाहालले रसुवा–काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्म रेलवे लाइन निर्माण, इनर्जी कनेक्टिभिटी, व्यापार तथा पापरवहन सन्धिसम्बन्धी ट्रान्जिट प्रोटोकल, पूर्वाधार विकास, पेट्रोल भण्डारण, टान्समिसन लाइन, इकोनोमिक जोनलगायत विषयमा द्वीपक्षीय सम्झौता तथा सहमतिका लागि नेपाल तयारी अवस्थामा रहेको बताएका थिए ।

नेपाल  र चीनका द्वीपक्षीय हितका विषयमा दुई देशबीच सहमति जरुरी रहेको प्रधानमन्त्री दाहालले चिनियाँ उपप्रधानमन्त्री झाङलाई बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जनाएका छन् ।

भेटमा भूकम्पपछि अवरोध भएको तातोपानी नाका तत्काल खोल्न आग्रह गर्दै चीनसँग जोडिएका पूर्व पश्चिमका स्थानमा नाका खोल्न पनि आग्रह गरेका थिए ।

चिनियाँ उपप्रधानमन्त्री गाओलीले प्रधानमन्त्री दाहालले राखेका सबै विषयमा चीन सकारात्मक रहेको बताउँदै छिट्टै सहमति गरेर सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

साथै नेपाल संविधान निर्माण गरेर निर्वाचनमा जुटेकोमा खुसी व्यक्त गर्दै उनले नेपालका राजनीतिक दलहरू एकताबद्ध भएर जुनसुकै आन्तरिक समस्या समाधान गर्न सक्छन् भन्नेमा चीन विश्वस्त रहेको उल्लेख गरेका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका स्थायी सदस्यसमेत रहेका उपप्रधानमन्त्री झाङले राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गर्न इच्छुक भएको बताउँदै उपयुक्त समयमा सीले नेपाल भ्रमण गर्ने जानकारी गराएका थिए ।

पछिल्लो सयम चीनसँग टाढिँदै गएको दूरीलाई कम गर्न प्रधानमन्त्री दाहालको चीन भ्रमणले सहयोग पुग्ने चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

No comments:

Powered by Blogger.