Ads Top

कसरी छान्ने आफूलाई सुहाउने चस्मा?

धुलो तथा घामको विकीरणबाट आँखालाई सुरक्षित राख्न चस्माको महत्व रहे पनि कतिपयले यसलाई फेसनका रुपमा पनि लिने गरेको पाइन्छ। गर्मी बढ्दै गर्दा र धुलाम्मे बनेको राजधानीमा यतिबेला आँखालाई सुरक्षित गर्न चस्मा अति आवश्यक भइसकेको छ। 
 
धु
बढदो गर्मी तथा धुवाँ­धुलोबाट आँखालाई जोगाउन कालो चस्माको प्रयोग निकै उपयोगी मानिन्छ। कालो चस्माले आँखालाई धुलो, धुँवा, किटाणुबाट बचाउन मात्र नभई यसले अल्ट्रा भाइलेट विकिरणबाट समेत सुरक्षा दिने गर्छ।
 
चस्माको प्रयोग गर्दा आँखामा अल्ट्राभाइलेट रेको प्रभाव कम हुने र मोतिविन्दु तथा आँखाको ढकनीको झिल्लीमा हुने क्यान्सर समेत घटाउने चिकित्सकहरु बताउँछन्। बढी घामकै कारण तराईमा मोतिबिन्दु हुने औसत उमेर ४० वर्ष छ भने पहाडमा ५५ वर्ष। आँखा रोग विशेषज्ञ डा. अजितमान श्रेष्ठ जति गर्मी र घाम बढछ उति धेरै कालो चस्मा उपयोगी हुने र प्रयोग गर्नुपर्ने सुझाउँछन्। 
 
त्यस्तै हिउँ, पानीको सतह, घाम लागेको स्थान लगायत बढी चमक आउने स्थानमा चस्माको प्रयोगले हेर्न सहज बनाउनुका साथै अन्य जोखिमपूर्ण क्षेत्रमा रहँदा आँखालाई चोटपटक लाग्नबाट समेत जोगाउने गर्छ।
नेपाली बजारमा फरक मूल्यका रेबन, पोलिस, भोउग, ओकले, गुसी जस्ता विश्व बजारका चर्चित ब्राण्डका चस्माहरु किन्न पाइन्छन्। तर तिनमा नेपाली माझ रेबन बढी चर्चित छ। जसमा ओर्जिनल चस्माको मूल्य ५ हजार देखि २५ हजारसम्म पर्ने गर्दछ।
 
अन्य ब्राण्डका चस्मा केही सिमित पसलले मात्र सम्बन्धित कम्पनीबाट ल्याउने हुनाले तिनमा उपभोक्ता ठगिने सम्भावना न्युन रहने गरे पनि रेबन चस्मा भने फुटपाथदेखि महँगा पसलहरुसम्म पाइने हुनाले डुप्लिकेट वा ओर्जिनल छुट्याउन नसक्दा ग्राहक ठगिने गरेका छन्।
 
चस्मा व्यवसायमा संलग्न व्यवसायी तथा दरबारमार्गस्थित ‘अपसन्स’ पसल सञ्चालन गर्दै आएका अनुज शाक्यका अनुसार नेपाली बजारमा चीन तथा इटालीबाट चस्मा भित्रने गर्छ। जसमा इटालीबाट आयात हुने चस्मा आधिकारिक ब्राण्डको विक्रेता मार्फत सोझै ल्याइएको हुन्छ भने चीनबाट आयात हुने चस्मा ति ब्राण्डको नाम राखेर चीनमा बनाइए पनि ग्राहक झुक्याउन ‘मेड इन इटाली’ वा ‘मेड इन युएसए’ भनेर लेखिएको हुने गर्छ।
 
उनले भने, ‘नेपालमा क्रेज बढे पनि ओर्जिनल चिन्न नसक्दा हाल ७० प्रतिशत मानिस चस्मा किन्ने क्रममा ठगिने गरेको पाएको छु, गुणस्तरमा भन्दा मूल्यमा ध्यान दिने तथा जस्तो पायो त्यस्तै पसलमा किन्नाले अधिकाशं मानिस ठगिने गरेका छन।’
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वका ४० वर्ष भन्दा मुनिका ४० प्रतिशत मानिसहरुलाई तथा ४० वर्ष नाघेका सबै मानिसलाई चस्माको आवश्यकता पर्दछ।
 
कसरी चिन्ने ओर्जिनल चस्मा ?
 
व्यवसायीहरुका अनुसार चस्मा किन्नु भन्दाअघि त्यो प्लास्टिक वा पोलाराइज्ज युभी ग्लास के बाट बनेको भन्ने कुरामा चनाखो बन्ने गर्नुपर्छ। त्यस्तै किन्न लागेको चस्माको स्टिकर वा लोगो हेर्ने, ‘ग्लास स्टिकर’मा चस्मालाई परीक्षण गर्नुपर्दछ। ब्राण्ड कन्सेप्ट तथा ‘जेन्यून’ ठाउँमा किन्ने गर्नुपर्दछ।
 
चिकित्सक श्रेष्ठका अनुसार घाम बढी लागेको समयमा आँखाको नानीको आकार तथा व्यास सानो हुने भएकाले कमसल चस्मा प्रयोग गर्दा आँखामा अँध्यारो बढ्ने भएकाले नानी वरपरको व्यास ठूलो हुन पुग्दछ।  कमसल तथा जथाभावी किनेका चस्मा लगाउँदा बढी प्रकाश नानी र पर्दासम्म पुग्ने भएकाले व्यास ठूलो बनाउने तथा सूर्यको किरणलाई फिल्टर पनि गर्न नसक्ने हुनाले हानिकारक प्रकाश  छिरी आँखालाई झन् नराम्रो असर पुर्‍याउने गर्छ। 
 
कसरी छान्ने आफूलाई सुहाउने चस्मा ?
 
चस्माले मानिसको व्यक्तित्वको पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने गर्छ। चस्मा लगाउने कोही मानिसलाई राम्रो सुहाएको हुन्छ भने कसैलाई नसुहाएको पनि हुन सक्छ। आफ्नो मुहारको बनोटलाई ख्याल नगरी बजारको फेसन अनुसारको चस्मा छान्दा नसुहाउने र आँखा तथा अड्ने नाकलाई समेत अप्ठेरो पर्न सक्छ। 
 
दृष्टी विशेषज्ञ किशोर सापकोटाका अनुसार व्यक्तिलाई कस्तो फ्रेम भएको चस्मा सुहाउँछ भन्ने कुरा अनुहारको बनोट, छालाको रङ तथा कपालको शैलीमा निर्भर हुने गर्छ। उनको भनाइमा चारपाटे वा गोलो अनुहार भएका व्यक्तिलाई रेक्टेन्गुलर तथा लाम्चो अनुहार भएका व्यक्तिलाई बढी चौडा भएको चस्मा प्रयोग गर्दा सहाउँछ।
 
ओभल आकारको मुहार भएका व्यक्तिलाई भने प्राय सबैखाले फ्रेमको चस्मा सुहाउने गर्छ। त्यस्तै नाक लामो भएका व्यक्तिलाई लेन्सको बीचको भाग अलि छोटो तथा नाकको तल्लो भागमा अडिने खालको र छोटो नाक भएकाहरुलाई भने नाकको शिरानमै अडिने खालको भए राम्रो सुहाउने गर्छ।
 
चस्माको माथिको भाग र प्रयोगकर्ताको आँखीभौ समानान्तर नभएमा चस्माले आखीँभौ नै ढाक्ने खालको हुनुपर्दछ। कपाल खौरिएको वा छोटो भएका व्यक्तिलाई मसिनो वा हलुको फ्रेम आकर्षक हुन्छ भने लामो कपाल भएकाहरुलाई मध्यम स्तरको फ्रेम र ठिक्को कपाल हुनेहरुलाई ठूलो र गाढा फ्रेमको प्रयोग गर्दा सुहाउने उनी बताउँछन्।

No comments:

Powered by Blogger.