Ads Top

नेपाल हो तर नेपाल होईन ।

http://assets-cdn.ekantipur.com/images/nepal/miscellaneous/काँकडभिट्टा ।। सिंगो गाउँ बिरिङ खोलाले वरिपरिबाट घेरेको छ । बाढी गाउँ पसेर बर्सेनि दु:ख दिन्छ । साबिकको घेराबारी गाविस (हाल : कचनकवल गाउँपालिका–१)को पिन्डलबारी गाउँ ‘झापाको टापु’ भनेर चिनिन्छ । किनभने, बर्खा लागेपछि गाउँका मान्छे गाउँमै बन्धक हुन्छन् ।

पिन्डलबारीको दक्षिण, पश्चिम र उत्तरी साँध–सीमा भारतको बिहारसँग जोडिएको छ । पिन्डलबारीवासीलाई काम विशेषले गाविस या अन्य क्षेत्र जानुपर्दा भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । “यो जिल्लाकै पछि परेको स्थान हो,” कचनकवल गाउँपालिकाका सचिव रेवतीरमण रेग्मी भन्छन्, “पिन्डलबारीको विकासका लागि पहल भइरहेको छ ।”

तत्कालीन घेराबारी गाविसको समग्र विकासका लागि भनेर जिल्ला विकास समितिले गत वर्ष २७ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । यसअघि पनि लगभग यति नै रकम छुट्याउने गरिएको थियो । तर, गाउँमा न बिजुली छ, न त खानेपानी नै । बाटो त छ तर साह्रै साँघुरो । जिल्ला विकास समितिले यहाँ बिजुली पुर्‍याउन भनेर गत वर्ष नै थोरै भए पनि बजेट दियो । गाविसले पोल पनि खरिद गर्‍यो । तर, अहिलेसम्म बिजुली पुगेको छैन । पिन्डलबारीसम्म झोलुङ्गे पुल निर्माणको योजना पनि अलपत्र छ ।

करिब डेढ सय घरधुरी रहेको यहाँ जनसंख्या पाँच सयको हाराहारीमा छ । यहाँ खास गरी राजवंशी, गणेश, मण्डल र गिरी समुदायको बसोवास छ । पूर्वबाहेक पिण्डलबारीको सिमाना भारतको किसनगन्ज जिल्लासँगै जोडिएको छ । पारि बिहारको डोरिया गाउँ छ ।

दशगजामै रहेको यो गाउँका बासिन्दा किनमेलका लागि भारतीय बजार पुग्नुपर्ने बाध्यता छ । “हाम्रो गाउँमा एउटा चिया पसल पनि छैन,” स्थानीय रीनाकुमारी राजवंशी बाध्यता सुनाउँछिन्, “केही खान मन लाग्यो भने भारतै पुग्नुपर्छ ।”

पिन्डलबारीमा नेपाली रुपियाँ चल्दैन । भारतीय रुपियाँ (भारु)मा मात्रै कारोबार हुन्छ । नेपाली मुद्रा चलाउन भने बट्टा (अतिरिक्त शुल्क) तिर्नुपर्ने बाध्यता छ । आर्थिक कारोबार भारतसँगै हुने भएकाले यहाँ नेपाली रुपियाँ नचलेको हो । अझ कस्तोसम्म छ भने कतिपयले त नेपाली रुपियाँ देखेका पनि छैनन् ।

यो गाउँको कतिसम्म दूरावस्था छ भने गाउँले बिरामी भइहाले स्वास्थ्य चौकीसमेत छैन, भारत नै पुर्‍याउनुपर्छ । “यताभन्दा उतै नजिक र सजिलो पर्छ,” स्थानीयवासी नारायण राजवंशी भन्छन् । बिजुली नहँुदा मोबाइल चार्ज गर्न पनि भारतै पुग्नुपर्छ । अझ नेपाली मोबाइल हत्तपत्त लाग्दैन, भारतीय मोबाइल मज्जाले टिप्छ यहाँ । यहाँका बासिन्दाको रहनसहन पारिका भारतीयसँग मिल्छ । यहाँ नेपाली भाषा पनि खासै बोलिन्न । कि मातृभाषा बोल्छन्, कि त हिन्दी नै । स्थानीय नारायण राजवंशी भन्छन्, “त्यसैले यो नेपाल हो र होइन पनि ।”

दुई वर्षअघि राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष युवराज खतिवडासहितको टोलीले उक्त क्षेत्रको निरीक्षण पनि गरेको थियो । खास गरी वर्षायाम लागेपछि यो गाउँका बासिन्दाको आफ्नो गाविससँगको सम्बन्ध विच्छेद हुने गरेको छ । विद्यार्थीहरू विद्यालय जान नपाउने स्थिति छ । त्यसैले धेरैजसो नेपाली विद्यार्थी भारतले सिमानामै सञ्चालन गरेको विद्यालयमा पढ्छन् । भारतले विद्यार्थीलाई विद्यालयमै खाजाको व्यवस्था पनि गरेकाले नेपाली विद्यार्थीको आकर्षण बढी छ ।

यहाँको समस्या देखेपछि आयोगले झोलुंगे पुल निर्माणका लागि बजेट व्यवस्था गरेको थियो । सोही बमोजिम करिब तीन सय मिटर लामो झोलुंगे पुल निर्माणका लागि अध्ययन सुरु भएको छ । सांसद जितु गौतम भन्छन्, “कम्तीमा झोलुंगे पुल बनेपछि यो गाउँका जनताले ठूलो राहत पाउनेछन् ।”

No comments:

Powered by Blogger.