Ads Top

नेपाली सिनेमाका सिल्भर लाइनिङ

  • हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भनिन्छ । यतिबेला कलिउडले पनि आसलाग्दा प्रयासहरु देख्न थालेको छ । नेपाली फिल्म भन्नेबित्तिकै नाक खुम्च्याउनुपर्ने स्थिति छैन ।
सुशील पौडेल
फाल्गुन २०, २०७३- छिमेकी मुलुक भारत बलिउड फिल्म उद्योगका कारण विश्व प्रसिद्ध छ । विश्व फिल्म बजारमा बलिउड तेस्रो ठूलो उद्योगका रूपमा दह्रिसकेको छ । संसारभरबाट बलिउड फिल्मले राम्रो आम्दानी पनि गरिरहेको छ । भारतमै भने बलिउडको बजार झन्डै ४३ प्रतिशत मात्रै छ । जबकि तेलुगु र तामिल जस्ता दक्षिण भारतीय फिल्मकै बजार ३६ प्रतिशत रहेको मानिन्छ । दक्षिण भारतमा फिल्म हेर्ने संस्कृति उदाहरणीय मानिन्छ ।
नेपाली फिल्म उद्योग (औपचारिक रूपमा उद्योग घोषणा पनि भएको छैन) भने वर्षले आधा शताब्दी गुजारे पनि बजारमा भने अझै बच्चै छ । न त विदेशी टेरिटोरीमा आफूलाई फैलाउन सकेको छ न घरभित्रै । तर हरेक कालो बादलमा चाँदीको घेरा (सिल्भर लाइनिङ) हुन्छ भनिन्छ । यतिबेला पनि स्वदेशी फिल्म क्षेत्रमा केही सिल्भर लाइनिङ देखापर्न थालेका छन् । 
तीन वर्षअघि मात्रै आमिर खान स्टारर ‘धूम ३’ ले नेपालबाट मात्रै दुई सातामा झन्डै छ करोडको व्यापार गरेर हल्लाखल्ला मच्चाइदिएको थियो । जबकि उक्त समयमा नेपाली फिल्मलाई औसत ४० लाख रुपैयाँको बजेट धान्न पनि धौधौ परिरहेको थियो । कतिपय नेपाली फिल्मले त देशभरबाट तीन लाख रुपैयाँको पनि व्यापार गर्न सकिरहेका थिएनन् । तर अब नेपालमा आमिर खान वा सलमान खान, शाहरूख खानका फिल्मले मात्रै बम्पर ओपनिङ गर्ने दिन गए । त्यो स्टारडम यतिबेला नायक अनमोल केसी, सौगात मल्ल हुन् वा दयाहाङ राई तथा निर्देशनमा निश्चल बस्नेतलगायत केही फिल्मकर्मी, ब्यानरले देखाउन थालेका छन् ।
गत शुक्रबार फिल्म ‘लुट २’ रिलिज हुनु अगावै दुई दिनको शोज सोल्डआउट भयो । मंगलबार नै बुकिङ खोलिदिएको राजधानीको क्यूएफएक्स सिनेमाजका सबै २२ शोज रिलिजपूर्व नै हाउसफुल भए । पहिलो दिन नै फिल्मले डेढ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको दाबी छ । विकेन्ड बिजनेसमा जबर्जस्त देखिएको ‘लुट–२’ को कमाइ अहिलेसम्मकै कीर्तिमानी मान्न सकिन्छ । त्यसो त निश्चल बस्नेत निर्देशित ‘लुट–२’ सप्ताहन्तपछि शोजमा झन् बढोत्तरी गरेको छ । नेपाली फिल्म रिलिजले सोही साता रिलिज गरिएको शाहिद कपुर र कंगना रनावत स्टारर ‘रंगुन’ लाई समेत खुम्चाइदिएको छ ।
एकाध वर्षयता नेपाली फिल्मले स्वदेशी दर्शकको विश्वास आर्जन गर्न सफल देखिएका छन् । फस्ट डे फस्ट शो हेर्ने लहर नेपाली फिल्मका लागि पनि देखिनु आक्रामक बजार निर्माणको बलियो आधार हो । 
गत वर्ष फागुनमै रिलिज भएको थियो, ‘ड्रिम्स’ । अनमोल केसीको स्टारडमकै कारण रिलिजको दुई दिनमै डेढ करोड रुपैयाँको बिजनेस गरेको भनिएको फिल्मले त्यसपछि पनि वर्ड अफ माउथका आधारमा बक्सअफिसमा मनग्य कलेक्सन गर्न सक्यो । स्वदेशी फिल्मको रिलिज डेमा नै दर्शकलाई हलसम्म तान्ने पहिलो श्रेय अनमोललाई नै जान्छ ।
पाँच महिनाअघि रिलिज भएको कमेडी जानराको फिल्म ‘छक्का पञ्जा’ ले त कमाइमा नयाँ कीर्तिमान नै रच्यो । एक सय दिनभन्दा बढी चलेको रेकर्डदेखि सर्वाधिक ग्रस कलेक्सनको रेकर्ड पनि आफ्नै नाममा राख्यो । दीपाश्री निरौलाको डेब्यु निर्देशन रहेको ‘छक्का पञ्जा’ को ओपनिङ भने मध्यम मात्रै थियो । तर फिल्मको व्यापारले विस्तारै पिकअप लियो र झन्डै २० करोड रुपैयाँको ग्रस कलेक्सन गर्‍यो । जबकि यसअघि ‘कोहिनूर’ ले बनाएको सर्वाधिक व्यापारको कीर्तिमान यस फिल्मका निर्माता तथा नायक श्रीकृष्ण श्रेष्ठको असामयिक निधनको सिमप्याथी फ्याक्टर मानिएको थियो । तर ‘छक्का पञ्जा’ ले दर्शक रिझाएरै उक्त रेकर्ड बनायो ।
नेपाली फिल्मले विदेश बजारमा आफूलाई चाहेजति फैलाउन नसकिरहे पनि स्वदेशमा भने बजार सकारात्मक बनाउँदै लगेको छ । नेपाली फिल्म भनेर नाक खुम्चाइहाल्नुपर्ने अवस्था पनि यतिबेला छैन । जसले गर्दा दर्शकले स्वदेशी फिल्मप्रति पनि नरम व्यवहार देखाउन थालेका छन् । राम्रा नेपाली फिल्मलाई सकभर हलमै गएर हेर्ने संस्कृतिको विकास हुनु स्थानीय बजार निर्माणका लागि बलियो खुड्किलो पनि हो ।
नेपाली फिल्मका दर्शक यतिबेला परिपक्व पनि बन्दै गइरहेको देखिन्छ । मल्टिप्लेक्स कल्चरले त्यसमा सघाइरहेको पनि छ । महिना दिनअघि रिलिज भयो, ‘जात्रा’ । यस फिल्ममा न कुनै स्टार थिए, न फाइट र गीतको चास्नी नै घोलिएर गुलियो पार्न खोजिएको थियो । थिए त केवल अभिनयका खुंखार विपिन कार्की, रवीन्द्र झा र रवीन्द्रसिंह बानियाँ । अनि बलियो स्क्रिपले । आखिर दर्शकले ‘जात्रा’ लाई पनि रुचाइदिए । दर्जनौं गुन्डालाई तह लगाउने र फूलबारीमा कम्मर लच्काएर नाच्ने खाइलाग्दो हिरो र लोभलाग्दी हिरोइन नभए पनि दर्शकका लागि कथा र पटकथा नै फिल्मको मुख्य हिरो बनिदियो । सानो बजेटमा बनाइएको उक्त फिल्मले स्वदेशी बजारबाटै राम्रो नाफा कमायो भने विदेश राइट्स बोनस हुन पुग्यो । 
विदेशी महोत्सव र दर्शकमाझ यथेष्ट तारिफ र प्रशंसा बटुले पनि स्वदेशमा रिलिज गर्ने क्रममा ‘सेतो सूर्य’ का निर्माता तथा निर्देशक दीपक रौनियार तनावमा थिए । उनी भन्थे, ‘मेरो फिल्म घरकै दर्शकले रुचाएनन् भने मेरो मनमा शान्ति हुने छैन ।’ रिलिजपछि भने रौनियारले शान्तिको सास फेर्न पाए । हेरेका दर्शकले केही कमीकमजोरी औंल्याउँदै फिल्मको प्रशंसा नै गरे । रौनियारले भन्दै आएको नेपाली दर्शकमा फिल्म साक्षरताको कमी छ भन्ने भनाइ पनि यसपटक केही परिमार्जित भयो होला । 
त्यसैले त हिरो र हिरोइनको लभस्टोरी बिक्ने बेलामा दिदी र भाइको माया र स्नेहलाई मूल कथामा बाँधेर बनाएको ‘डाइङ क्यान्डल’ पनि रिलिज गर्न हिम्मत गरे, यसका निर्माता तथा निर्देशक नरेशकुमार केसीले । आखिर फिल्मबाट उनले अपेक्षा नै नगरेको सकारात्मक प्रतिक्रिया बटुले । आफैंले दुई दिनमा फिल्म उत्रने शंका गरेका नरेश नै दुई हप्तासम्म हलमा लागेको प्रत्यक्ष साक्षी बने ।
पछिल्ला वर्षहरूमा जसरी स्वदेशी फिल्मले निर्माणमा परिवर्तित शैली र कथा चयनमा मौलिकता अपनाउन थालेका छन्, त्यसलाई दर्शकले पनि रुचाएका छन् र आत्मसात् गरेको देखिन्छ । यसले गर्दा बिनाकथामा नै पाँच फाइट र पाँच गीतलाई जोडेर फिल्म तयार पार्ने प्रवृत्ति हतोत्साहित हुँदै गएको छ । सफा नियतले फिल्म नै बनाउन आउने फिल्मकर्मीको प्रयास यतिबेला धेरै हदसम्म सफल बनिरहेको छ । 
एक वर्षयता सफल बनेका वा चर्चा बटुलेका फिल्महरू ‘छक्का पञ्जा’, ‘ड्रिम्स’, ‘जात्रा’, ‘डाइङ क्यान्डल’ सबै डेब्यु निर्देशनमा बनेका हुन् । ‘छक्का पञ्जा’ बाट दीपाश्री निरौलाले निर्देशनमा डेब्यु गरेकी हुन् भने ‘ड्रिम्स’ बाट भुवन केसीले । त्यसैगरी ‘जात्रा’ बाट प्रदीप भट्टराईले निर्देशनमा हात हालेर पहिलो प्रयासमै सफलता चाखे भने ‘डाइङ क्यान्डल’ बाट नरेशले । त्यसो त ‘लुट–२’ का निर्देशक निश्चल पनि भर्खर तेस्रो फिल्म बनाइरहेका नयाँ नै हुन् । तर दुर्भाग्य, व्यापार राम्रो गरे तापनि चुहावट र प्रदर्शकसँग निर्माताले गर्नु परिरहेको सेयरको अवैज्ञानिक सम्झौताका कारण कमाइ भने हात लाग्यो शून्य अवस्थामा नै छ । राम्रो व्यापारबाट राम्रो कमाइको अवस्था आउन सकेमा नेपाली फिल्म निर्माणमा व्यापारिक घराना पनि आकर्षित हुन सक्ने देखिन्छ । जसले फिल्म क्षेत्रलाई उद्योगका रूपमा बदल्न टेवा पुग्नेछ । 
घरभित्रै राम्रो व्यापार गरिरहेका वा राम्रो गर्ने संकेत देखाएका फिल्मका अचेल डायस्पोरामा समेत माग बढ्न थालेको छ । मोटो रकममा दर्जनौं देशहरूमा फिल्म बिक्री हुनुले पनि राम्रा फिल्म बनाउन चाहने निर्माताका लागि लगानीको जोखिम कम हुँदै गइरहेको छ । आखिर बजार र वस्तु एकअर्काका पूरक हुन् । वस्तु गुणस्तरीय हुँदा स्वत: बजारको माग पनि बढ्छ । र, बढिरहेको बजारका कारण पनि यतिबेला नेपाली फिल्मले नयाँ आवरण र साजसज्जासहित प्रतिस्पर्धामा निस्केका छन् । कालो बादलमा चाँदीको घेरा बाक्लिँदै गइरहेको छ । 



No comments:

Powered by Blogger.