Ads Top

मलाई माफ गर! तिमीसँगको त्यो अन्तिम बाचा मैले तोडीदिए

मलाई माफ गर! तिमीसँगको त्यो अन्तिम बाचा मैले तोडीदिएदुई वर्ष बितिसकेछ तिमी सँग छुट्टिएको पनि। हजारौ उतारचढावका बाबजुत पनि खुसी छु, सुखी छु जीवन जिउँदै छु, तर यो दुई वर्षमा मैले तिमीलाई नसम्झेको कुनै एक पल नहोला म सँग! धेरै पटक तिमीलाई कन्ट्याक गर्न खोजे तर त्यो तिम्रो जिद्दी पनाको अघि मैले जितेको कहिले छु र?
आज पनि बल्ल तल्ल सामर्थ्य जुट्यो दुई चार शब्द तिमीलाई लेखु केही मनका भारी हरु फेरि त्यो चौतारीमा बिसाउँ अनि क्षणभर वास्तविकता बाट टाढा गएर तिमीसँग क्षितिज पारीको सँसारमा रमाउँ। बस यही चाहमा फेरि तिम्रो दिलको ढोका घच्घच्याउन आएको छु।

उत्तर त पाउँदिन होला मेरा प्रश्नहरुको तैपनि मलाई तिमीसँग कहिल्यै केही गुनासो रहने छैन किनकि मलाई थाहा छ तिमी जस्तै म पनि तिम्रो सम्झनामा हरेक पल दगुरेको हुन्छु र जीवन रहुन्जेल सम्म यो क्रम निरन्तर चल्नेछ।
तिमी कहां छ्यौ? कस्तो अवस्थामा छ्यौ? तिमीलाई मैले सोधीरहनु अनि जानी राख्नुपनि जरुरी नलाग्ला तर मेरो ठूलै इछ्याभित्र को एउटा इछ्या हो यो। तिमीसँग छुटे छुटेर क्यानडा आएदेखि यतै छु, विवाह पनि यतै गरे, एक वर्षकि त छोरीनै भैसकिन, धेरै माया गर्ने जीवनसाथी पाएको छु तैपनि तिम्रो अभाव मेरो दिल र दिमागमा पूरा गरिदिन कसै केहीले सकेन।
मैले यस्तो भनिरहँदा तिमीलाई लाग्ला म कसैलाइ धोका दिदैछु र यदि त्यही हो भने पनि म मेरो अपराध स्वीकार्छु तर सायद तिमी मेरो जीवनको त्यो हिस्सा हौ जो बिना मेरो श्वास मात्र सम्झौताको फगत फेराइ भएको छ जो आफ्नो लागि नभई अरुको लागि जीवित रहन लिनुपर्छ…।

एकबिहानै आँखा खोल्दा मोबाइलको इनबक्समा आएको मेलको एक अंस हो यो। अनि सेन्ड गर्ने व्यक्ति दुई वर्ष अघि जिन्दगीमा कहिल्यै नभेट्ने बाचा सहित छुटिएको मेरो प्रेमी, म उसलाई कहिल्यै भूतपूर्व भनेर भन्न सक्दिनँ किनकि आज पनि उसको प्रेम म भित्र जीवित छ।
अनि सांच्चै उसले भने झैं मेरो अन्तिम श्वास सम्म रहनेछ। यसै पनि हामीले शरिर एक बनाउँन प्रेम गरेकै कहां थियौ र? छुट्नु पर्छ भन्ने थाहा हुंदाहुदै पनि हामि नजिकिएका थियौ। हामी जीवन भरको लागि मात्र त्यो एक पल जिउन चाहन्थ्यौं। जुन हाम्रो लागि जीवनभर साथ रहोस सम्झनामा, खुसीहरूमा, कल्पनामा, अनि हर सुखद अनि दुखद क्षणहरुमा।

विदेशको ठाऊँ यसै पनि आफ्नो आफन्त र मायाको खडेरी, ऊसँगको मेरो भेट, रँग नम्बर बाट आएको एउटा फोन कलले जुटाएको अजीवको प्रेम आखिर जिन्दगीभरिको लागि मृगतृष्णा बनेर रह्यो। एकै ठाउँमा भएर पनि हाम्रो प्रत्क्षय खासै भेटघाट हुदैनथ्यो। फुर्सद हुनसाथ या फुर्सद निकालेर हाम्रो फोनमै कुरा हुन्थ्यो। सुरुसुरुमा बोल्न असहज लाग्ने मलाई बिस्तारै उसको आदत बन्दै थियो। कयौ रात यसै बित्थे बोल्दा बोल्दै, हास्दा हांस्दै अनि कति पटक रुदारुदै पनि।

शरीर सँग को मोह दुवैमा त्यति नभएर पनि होला हाम्रो प्रेमले कहिल्यै भौतिक निकटता खोजेन। तर यादमा कति धेरै पागलपन अनि कति गहिराई थियो आज आएर महसुस हुन्छ। हामी दुवैको अलग गन्तव्य, छोटो दुरीका सहयात्री हामी, मात्र एक महिना समय हामीले साथ बितायौ त्यो पछि उसको यात्रा अघि बढ्यो अर्को देश तर्फ। म पनि फर्किए एक वर्ष पछि आफ्नै देश।
यसो विगत तिर फर्किएर हेर्छु कहिलेकांही, धेरै कुरा बदलिसकेछन यदाकदा म आफै पनि। दुखका पहाडहरु कसरी बिस्तारै बिस्तारै उक्लिनु पर्छ भन्ने कुराको ज्ञात त बल्ल बल्ल हुंदैछ मलाई। लाग्थ्यो धेरै कुरा भोगिसके जिन्दगीमा तर होइन रहेछ भोगाईको सुरुवात त अब मात्र पो हुदै रहेछ।

आफ्ना विगतहरु सँग एक दुई गर्दा गर्दै थोपरिएका गुनासोका भारीहरु निक्कै गरुंगो भैसकेछन। थचक्क बसेर जुरुक्क उठ्ने हिम्मत मैले अझै सम्म पनि जुटाउन सकेकी रहिनछु। मलाई महसुस हुंदैछ मेरो सोचाइ झैं त्यसको काविल बन्न मैले मेरो जिन्दगीमा जाने अझै धेरै पहिरो सँगसँगै बग्नु पर्नेछ।

मलाई निन्द्रा लाग्दैन रातमा धेरै बेर सम्म, केही नदिए पनि यो एक्लोपनमा मलाई साथ ती विगतका तिता मिठा यादहरुले दिन्छ्न। म तिनै भित्र हास्छु तिनै भित्र रुन्छु अनि तिनै भित्र आफुलाई बिलिन गराउँछु, कहिलेकांही यिनै यादहरु ले मलाई छट्पटी गराउँछन, बेचैन बनाउँछन, अजिव सँग मेरो घांटी निमोठ्न खोज्छन अनि बिस्तारै काखको सिरानी पर फालेर पानीको घुट्कीमा क्षणभर म यी सब स्मृतिबाट अलग बन्छु, यध्यपी पलभर चैनको श्वास लिने आशा म भित्र जाग्छ।

तिमी त मेरो छांया हौ,कसरी म बाट अलग हुन सकौली र? केहीबेर को अँध्यारोले तिमीलाई म बाट अलग्गिएको भान होला या तिमीलाई भ्रम पैदा होला तर अहँ भ्रम कहिल्यै यथार्थ बन्दैन त्यो तिमीलाई पनि थाहा छ र मलाई पनि। भावनामा बहकिएर प्रेम गर्न सांच्चै रमाईलो लाग्दो हो उसलाई।
कल्पनाको सँसार यसै पनि रमाईलो नै त हुन्छ। क्षितिज पारीको त्यो डुब्न लागेको घाम,सांझको समय,समुन्द्र किनारको चिसो बतास। उसले आफ्नो अँगालोमा मलाई कस्दै अन्तिम भेटमा बोलेका शब्दहरु को आहट अहिले पनि मेरो कानमा गुञ्जयमान हुन्छ अनि मुटु तेजले धड्काई दिन्छ।

काली के भयो? श्रीमानको सोधाईले अचानक म झस्किन्छु। सायद म भावुक भएछु क़्यार। क्लियर हिस्ट्री गरेर बोल्छु खै कस्को मेल आएछ सायद झुक्किएर मेरोमामा सेन्ड भए जस्तो छ।
हामी नदीका दुई किनारा सँधै सधैका। न त म कहिल्यै तिम्रो बन्न सक्छु न तिमी नै मेरो। यो प्रेमले न तिमीलाई कहिल्यै खुसी दिनेछ न मलाई र त्यो एक दिन अवस्य आउनेछ जून दिन आफ्ना विगततीर फर्किएर हामी न खुलेर हांस्न सक्नेछौ न खुलेर रुन, याद राख त्यो दिन हामी पूर्ण भएर पनि रित्तो हुनेछौ, भीडमा पनि एक्लो महसुस गर्नेछौ, जीवन हुनेछ तर जीवित हुने छैन र त्यो दिन अवस्य आउनेछ।
मैले मुटु मिचेर त्यो बेलामा बोलेका यी शब्दहरु हेरत आज वास्तबिकता बने। क्लियर हिस्ट्री गरेर मनमनै भन्छु मलाई पनि माफ गर है, तिम्रो मेरो प्रेम कहानी अधुरो नै मिठो लाग्छ मलाई, अनि मौनता भित्र को तडप नै उचित। अमेरिका नेपाल

No comments:

Powered by Blogger.