पूरै कश्मिरको पीडा बोकेको एउटा यस्तो तस्बिर
भनिन्छ, तस्बिर आफैं बोल्छ । यहाँ दिइएको यो तस्बिरमा ९ वर्षीय बालक निकै भावविह्वल अवस्थामा देखिएका छन् । उनका आँखा पीडा सहन नसकेर चिम्लिएका छन् जसबाट अबिरल आँसु बगिरहेका छन् । यो तस्बिरले पक्कै पनि कुनै सुखको क्षणलाई वर्णन गर्दैन, यसले मानव वेदनाको चर्को आवाज बोलिरहेको छ ।
दक्षिण कश्मिरको पुलवामास्थित पद्गम्पोरामा भएको मुठभेदमा मारिएका एक किशोरको अन्तिम संस्कारका बेला खिचिएको उक्त तस्बिरले एक अत्यन्तै दुःखद अवस्थाको वर्णन गरिरहेको छ ।
कश्मिरका यी किशोरको फोटोले संसारको ध्यान आकृष्ट गरिरहेको छ । यद्यपी, फोटोमा भएका किशोरलाई भने भेउ छैन । ९ वर्षीय बुरहान फायाजका एक मिल्ने साथी, अमिर’ लाई गुमाउँदाको पीडा उक्त फोटोमा कैद गरिएको छ । ‘म अझै पनि दुखी छु,’ बेगुम्बागको सरकारी विद्यालयमा कक्षा तीनका छात्रले भने ।
मुठभेद भइरहेको स्थानमा गएर सुरक्षा संचालनलाई बाधा पुर्याउँदै लडाकुलाई भाग्न सहयोग गर्ने सयौं स्थानीयमध्ये उनका साथी अमिर पनि एक थिए । काश्मिरमा स्थानीयले सुरक्षाकर्मीलाई ढुङ्गा हानेर लडाकुलाई भाग्न सहयोग गर्ने कुनै नौलो कुरा भने होइन ।
‘अमिर मेरो निकै मिल्ने साथी थिए । अब म कोसँग खेल्ने ?’ शोकाकुल बुरहानले प्रश्न गरे ।
सोसल मिडियामा उनको तस्बिर सार्वजनिक भएपछि यसले थुप्रैको मन छोएको छ । कतिले उनको तस्बिरलाई आधार बनाएर कविता पनि लेखेका छन् ।
अधिकारकर्मी खुराम पर्भेजले चर्चित पाकिस्तानी कवि फैज अहमद फैजलाई उद्धृत गर्दै ‘खुन के धाबे धुलेङ्गे कितनी बर्सातों के बाद… (यो रगतको टाटोलाई कतिवटा वर्षाले पखाल्नेछ… ) ,’ लेखे ।
काश्मिरको एक ब्लगले बुरहानको फोटो राखेर ‘एक निर्दोष अनुहारलाई श्रद्धाञ्जली’ शीर्षकमा एउटा कविता लेखेको छः ‘संसारलाई उनको आँसुको उत्तर दिन देउ, संसारलाई उनको टुटेको मुटु हेर्न देउ, संसारलाई उनको रोदन सुन्न देउ…’
बुरहानलाई अहिले आफ्नो व्यक्तिगत क्षतीबारे मात्र थाहा छ । ‘मेरो साथीलाई गोली हानियो । तर उनी किन मारिए ?’ उनले प्रश्न गरे । उनलाई के थाहा, यी सबै काश्मिरको एक अभिन्न अंगको रुपमा विकसित भइसक्यो ।
No comments: