Ads Top

पाकिस्तान र बंगलादेशसँगको सिमा बन्द गर्दै भारत

काठमाडौं, १३ चैत । छिमेकी मित्रराष्ट्र भारतले पाकिस्तान र बंगलादेशसँगको सीमा बन्द गर्ने गृहकार्य अघि बढाएको छ । भारतीय गृहमन्त्री राजनाथ सिंहले पाकिस्तान र बंगलादेशसँगको सीमा बन्द गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।

आजको राजधानी दैनिकमा खबर छ– आतंककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्न ती दुई देशसँगको सिमा नाका बन्द गर्नुपर्ने गृहमन्त्री सिंहको भनाइ छ । ‘भारतले पाकिस्तान र बंगलादेशसँगको सीमा सम्भव भएसम्म छिटो बन्द गर्ने योजना बनाइरहेको छ । यो आतंकवाद र शरणार्थीविरुद्ध चाल्ने भारतको प्रमुख कदम हुनेछ,’ गृहमन्त्री सिंहले भनेका छन् । मध्यप्रदेशमा रहेको बोर्डर सेक्युरिटी फोर्स (बीएसएफ) एकेडेमीबाट तालिम पूरा गरेका बीएसएफ अधिकृतलाई सम्बोधन गर्दै गृहमन्त्री सिंहले पाकिस्तान र बंगलादेशसँगको सीमा बन्द गर्ने अन्तिम तयारी भइरहेको प्रस्ट पारेका हुन् । ‘पाकिस्तानसँगको सिमाना आउँदो सन् २०१८ देखि नै बन्द हुनेछ, घुसपैठ बढ्दै गएकाले यस्तो निर्णय लिइएको हो,’ उनले भने ।

गृहमन्त्री सिंहले यसलाई केन्द्रीय स्तरबाट गृहसचिवले र राज्य स्तरबाट बीएसएफ र मुख्यसचिवले अनुगमन गर्ने जानकारीसमेत गराए । भारत सरकारले सीमा बन्द गर्न हुने प्राविधिक कठिनाइको समाधान गर्ने गृहमन्त्री सिंहको भनाइ छ । उनले भारतको सीमा रक्षाका लागि बीएसफएले खेलेको भूमिकाको उच्च प्रशंसासमेत गरे । गत वर्षभर नै भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा भएको विवादका क्रममा दर्जनौं निर्दोष नागरिकका साथै सुरक्षाकर्मी मारिएका थिए । भारतले पाकिस्तानसँगको अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने बताए पनि नियन्त्रण रेखाका विषयमा कसरी निर्णय लिन्छ भन्नेबारे गृहमन्त्री सिंहले केही खुलाएका छैनन् । भारत र पाकिस्तानबीच एउटा अन्तर्राष्ट्रिय सिमाना रहेको छ भने अर्को काश्मीरमा नियन्त्रण रेखारहेको छ ।

काश्मीर भारत र पाकिस्तान नियन्त्रित क्षेत्रका रूपमा दुई भागमा विभाजित रहेको छ । यसैगरी भारतले बंगलादेशसँगको सीमासमेत बन्द गर्ने तयारी गर्नुलाई भने आश्चर्यका रूपमा हेरिएको छ । पाकिस्तानको कट्टर आलोचक बंगलादेशको भारतसँग राम्रो सम्बन्ध रहँदै आएको छ । गत वर्षको नोभेम्बरमा पाकिस्तानको इस्लामाबादमा तय गरिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनमा भारतले सहभागिता नजनाउने घोषणा गरेपछि बंगलादेशले पनि तत्कालै सहभागी नहुने निर्णय गर्दैै दबाब सिर्जना गरेको थियो । घनिष्ठ सम्बन्ध रहेको मुलुकमै सीमा बन्द गर्ने निर्णयमा भारत सरकार किन पुग्यो भन्ने विषयमा विश्लेषकहरूसमेत अन्योलमा रहेका छन् ।

No comments:

Powered by Blogger.