Ads Top

पोथी गिद्ध प्राकृतिक बासस्थानमा छाडिँदै ।



फाल्गुन २०, २०७३- चितवन निकुञ्जको मुख्यालय कसरास्थित ‘गिद्ध प्रजनन केन्द्र’ मा हुर्किए पनि बच्चा कोरल्न असफल गिद्धलाई प्राकृतिक बासस्थानमा छाडिने भएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलोपटक बच्चा कोरल्न अयोग्य ठहरिएका बाँझो ६ पोथी गिद्धलाई नवलपरासी, पिठौलीस्थित जटायु रेस्टुरेन्ट क्षेत्रमा छाड्ने तयारी गरेको छ । ‘आउँदो मार्च महिनामा सुरक्षित बासस्थानमा छाड्छौं,’ विभागका महानिर्देशक मनबहादुर खडाले कान्तिपुरसित भने, ‘केही समय तारबारले घेरेको ठाउँमा राख्छौं, पछि तिनलाई जंगलमै छाडिन्छ ।’ खोरभित्र हुर्किएका गिद्ध भएकाले एकैपटक जंगलमा छाडा जंगली गिद्धसँग आहारलगायतमा प्रतिस्पर्धा गर्न मुस्किल पर्न सक्छ । त्यसैले केही समय रेखदेख गर्नुपर्ने भएको हो ।
विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) र नेपाल पन्छी संरक्षण संघ (बीसीएन) को सक्रियतामा करिब १० वर्षदेखि कसरामा गिद्धको संख्या बढाउने उद्देश्यले प्रजनन केन्द्र सञ्चालित छ ।
‘प्राकृतिक बासस्थानमा गिद्ध छाड्ने कार्यक्रम (सन् २०१६ देखि २०१९)’ अन्तर्गत प्रजनन केन्द्रमा हुर्किएका ६ बाँझो पोथी गिद्ध (जोडी नभएका) लाई सुरक्षित प्राकृतिक बासस्थानमा छाड्न लागिएको हो ।
‘सन् २०१९ सम्म २० गिद्ध छोड्ने लक्ष्य छ,’ बीसीएनका ‘गिद्ध संरक्षण कार्यक्रम’ अधिकृत कृष्णप्रसाद भुसालले कान्तिपुरसित भने, ‘यसो गर्दा प्राकृतिक बासस्थानमा गिद्धको संख्या पनि बढ्नेछ ।’ उनका अनुसार अहिले प्रजनन केन्द्रमा दुई वटा खोर (ठूलो पिँजडा) मा जम्मा ५७ गिद्ध छन् ।
एउटा खोरमा १२ भाले र १२ पोथी, अर्को खोरमा १३ भाले र १३ पोथी राखिएका छन् । खडाका अनुसार यस वर्ष १३ वटा पोथी गिद्ध ओथारो बसिरहेका छन् । बाँकी एकलाई पनि अर्को वर्ष छाडिनेछ । प्रजनन केन्द्रमा हुर्काइएका प्रजनन अयोग्य गिद्धलाई बिस्तारै सुरक्षित प्राकृतिक बासस्थानमा पुन:स्थापना गर्ने कार्यक्रमलाई अर्को वर्ष पनि निरन्तरता दिइनेछ ।
सन् २००८ देखि २०१० सम्म विभिन्न स्थानका गुँडबाट गिद्धका बच्चा ल्याएर कसरामा प्रजनन गराउन सुरु गरिएको हो । सन् २०१३ पछि अहिलेसम्म प्रजनन केन्द्रमा गिद्धका ५ बच्चा जन्मिइसकेका छन् । ‘प्रजनन केन्द्रमा जन्माउने र हुर्काउने काम चलिरहन्छ,’ भुसालले भने, ‘प्रजनन नगर्नेलाई पहिचान गरेर अर्को वर्ष पनि प्राकृतिक बासस्थानमा छाडै जानेछौं ।’ गिद्धको सामान्य आयु ४० वर्षको हुन्छ । 

No comments:

Powered by Blogger.