Ads Top

भर्ना हुँदा छात्र बढी, परीक्षा दिँदा छात्रा ।

फाल्गुन २०, २०७३- कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ३ देखि हुँदै छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा नियमिततर्फ ४ लाख ६४ हजार ७ सय ४३ विद्यार्थी सहभागी हुँदै छन् । तीमध्ये छात्र २ लाख ३० हजार ८ सय ८० र छात्रा २ लाख ३३ हजार ८ सय ६३ जना छन् ।
पछिल्लो तीन वर्षयता १० कक्षाको अन्तिम परीक्षा दिनेमा छात्रको तुलनामा छात्राको संख्या बढी छ । ‘सरकारले छात्रामा गरेको लगानीको प्रतिफल देखिन थालेको छ,’ शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले भने । सरकारले प्रत्येक छात्रालाई छात्रवृत्ति दिइरहेको छ । छात्रामैत्री शौचालय व्यवस्थाको अभियान नै चलेको छ ।


०६४ मा कक्षा १ मा भर्ना भएका विद्यार्थीले यस वर्ष १० कक्षाको परीक्षा दिन लागेका हुन् । शिक्षा विभागका अनुसार त्यस वर्ष कक्षा १ मा १३ लाख ३४ हजार १ सय ९४ जना भर्ना भएका थिए । भर्ना भएकामध्ये ८ लाख ६९ हजार विद्यार्थी कक्षा १० सम्म पनि आइपुगेनन् । १ कक्षामा भर्ना भएकामध्ये ३५ प्रतिशत विद्यार्थी मात्रै १० कक्षामा परीक्षाको तयारीमा छन् ।
‘यसअघि कक्षा १ मा भर्ना भएकामध्ये १२ देखि १५ प्रतिशत मात्रै १० कक्षासम्म आइपुग्थे । यसपालि ३५ प्रतिशत आउनु सकारात्मक हो,’ पौडेलले भने । भर्ना भएकामा ६ लाख ५१ हजार ८ सय ७२ छात्रा र ६ लाख ८२ हजार ३ सय २३ छात्र थिए । यसअनुसार छात्राभन्दा ३० हजार बढी छात्र थिए । परीक्षा दिनेमा छात्रभन्दा ३ हजार बढी छात्रा छन् । यो तथ्यले छात्राको तुलनामा छात्रको ड्रप आउट (पढ्न छाड्ने) बढी हुने गरेको देखाउँछ ।
यसपालिको एसईईको आंशिक (एक्जाम्टेड) तर्फ १८ हजार ९ सय ९ मध्ये ११ हजार ५ सय छात्रा छन् । गत वर्षको ग्रेडिङको नतिजामा विषयगत ‘डी’ भन्दा तल्लो ग्रेड ल्याएका विद्यार्थीले पनि यस वर्ष ग्रेड वृद्धिको परीक्षा दिन पाउँछन् । ५० हजार ८ सय २७ जनाले ग्रेड वृद्धिको परीक्षा दिने भएका छन् । ग्रेड वृद्धिको परीक्षा दिने तयारीमा १९ हजार २ सय ८५ छात्र छन् भने ३१ हजार ५ सय ४२ छात्रा छन् । नियमित, आंशिक र ग्रेड वृद्धि परीक्षा दिने ५ लाख ३४ हजार ४ सय ७९ जना छन् । त्यसमा छात्र २ लाख ५७ हजार ४ सय ९१ जना छन् भने छात्रा १९ हजार चार सय ९७ ले बढी अर्थात् २ लाख ७६ हजार ९ सय ८८ जना छन् ।
१० कक्षाको परीक्षा दिनेमा गत वर्षको भन्दा यस वर्ष ५३ हजार विद्यार्थी घटेका छन् । अघिल्लो वर्ष ५ लाख ८८ हजार १ सय ५२ विद्यार्थीले परीक्षा दिएका थिए । विद्यार्थी संख्या घटेपछि परीक्षा केन्द्र पनि गत वर्षभन्दा २० वटा कम तोकिएको छ । गत वर्ष १ हजार ९ सय ४३ परीक्षा केन्द्र भएकामा यसपालि १ हजार ९ सय २३ मात्रै केन्द्र कायम गरिएको छ ।
परीक्षा नियन्त्रक अम्बिका रेग्मीले परीक्षाको केन्द्रीयस्तरबाट गर्नुपर्ने सबै काम सकिएको बताए । ‘प्रश्नपत्र र उत्तरपुस्तिका उपत्यकाबाहेक अन्य सबै जिल्लामा पुगिसक्यो,’ उनले भने, ‘अब जिल्लास्तरबाट गर्नुपर्ने काममात्रै बाँकी छ ।’
शिक्षाविद् प्रा.मनप्रसाद वाग्लेले कक्षा १ मा भर्ना हुँदा छात्राको संख्या कम भए पनि त्यही विद्यार्थी १० कक्षाको परीक्षा दिँदा बढी हुनुको कारण छात्रहरू बीचैमा पढाइ छाडेर कामको खोजीमा लागेको हुन सक्ने बताए । ‘शिक्षा विभागको फ्लास रिपोर्टमा गल्ती भएर पनि हुन सक्छ,’ उनले भने, ‘अर्को कारण स्कुल पढ्दापढ्दै कामको खोजीमा स्वदेश र विदेश जाने हुनाले केटाको संख्या घटेको हुन सक्छ ।’


No comments:

Powered by Blogger.